शनिवार, कार्तिक १ गते २०८३

भोटेकोशी बाढीमा दिवंगत प्रहरी कर्मचारीका परिवारलाई १० लाख राहत दिने निर्णय

बिहिवार , भाद्र १८, २०८३

रसुवा भोटेकोशी त्रिशूली बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारजनलाई विशेष आर्थिक सहयोगस्वरूप प्रहरी कर्मचारीहरूबाट राहतका रूपमा संकलन गरिएको रकमबाट तत्काल प्रतिव्यक्ति १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले दिवंगत प्रहरी कर्मचारीका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रूपैयाँ प्रदान गर्ने निर्णय समेत गरेको छ ।

बैठकले रसुवा भोटेकोशी/त्रिशूली बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै मृतक प्रहरी कर्मचारीहरूको परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरिएको छ ।

बाढीमा परी हालसम्म फेला पर्न नसकेका प्रहरी कर्मचारीहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउन परिवारका सदस्यहरूको सम्पर्क एवम् समन्वयमा विशेषज्ञसहितको टोली परिचालन गरी सक्रियताका साथ खोजतलास गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी, दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण रकम मिनाहा गर्ने निर्णय भएको छ । उनीहरूको परिवारबाट इच्छुक १ जनालाई सीपमूलक तालिम प्रदान गर्नुका साथै रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरिएको छ ।

दिवंगत प्रहरी कर्मचारीका सन्ततिहरूलाई शैक्षिक वृत्तिअन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय साँगा काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

यसैगरी, बाढी प्रभावित क्षेत्रका प्रहरी एकाइहरू—इप्रका टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामग्रीमा भएको क्षतिको राहतस्वरूप जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले १ जना सिनियर प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकी दिवंगत, सम्पर्कविहीन एवम् घाइते प्रहरी कर्मचारी तथा निजका आफन्त एवम् परिवारजनलाई खोजतलास, उपचार तथा सेवा सुविधा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्ने निर्णय समेत बैठकले गरेको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार