लोकदृष्टि खबर
नवलपरासी, २२ भदौ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत बेलाटारी इलाका प्रहरी कार्यालयले स्रोत नखुलेको नगद रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, मिति २०८३ साल भदौ २२ गते प्रतापपुर गाउँपालिका–९ बेलाटारीमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले UP 56 BH 6556 नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उक्त रकम फेला परेको हो।
मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका–६ गुठीप्रसौनीका २५ वर्षीय अंकित गुप्ता र २० वर्षीय अभिनन्दन गुप्तालाई रोकेर जाँच गर्दा मोटरसाइकलभित्र लुकाएर राखिएको स्रोत नखुलेको नेपाली नगद रु. २१,६०,००० (एक्काइस लाख साठी हजार) बरामद भएको प्रहरीले जनाएको छ।
दुवै जना र मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा ल्याइएको छ। अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।