लोक दृष्टि खबर ।
प्रहरी सेवा प्रवाह देखि व्यावसायिक दक्षता सम्म उत्कृष्ट कार्यसम्पादन, प्रहरी दिवसमा एसपी जनकबहादुर शाही सम्मानित
रुपन्देही । नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनअन्तर्गत ‘पुलिस व्याटन–२०८३’ मा जिल्ला प्रहरी कार्यालय, रुपन्देही सर्वोत्कृष्ट बन्दै पहिलो स्थान हासिल गर्न सफल भएको छ। जिल्लामा प्रहरी सेवा प्रवाह, कार्यालय सञ्चालन, कार्यकुशलता तथा व्यावसायिक दक्षतालगायतका मूल्याङ्कन सूचकमा उत्कृष्ट कार्यसम्पादन गरेपछि रुपन्देही प्रहरीले पहिलोपटक ‘पुलिस व्याटन’ प्राप्त गरेको हो।
प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीलाई ‘पुलिस व्याटन’ प्रदान गर्दै सम्मान गरेका हुन्।
प्रहरी संगठनभित्र कार्यसम्पादनको गुणस्तर, सेवा प्रवाहको प्रभावकारिता, कार्यालय व्यवस्थापन र व्यावसायिक क्षमतालाई महत्त्वपूर्ण आधार मानिन्छ। यिनै सूचकमा उत्कृष्ट प्रदर्शन गर्दै रुपन्देही प्रहरीले हासिल गरेको यो उपलब्धिलाई जिल्लाको प्रहरी संगठनका लागि महत्त्वपूर्ण सफलताका रूपमा हेरिएको छ।
रुपन्देही प्रहरीले प्राप्त गरेको यस सफलताले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, नागरिकलाई प्रभावकारी प्रहरी सेवा उपलब्ध गराउने तथा प्रहरी संगठनप्रतिको जनविश्वास अभिवृद्धि गर्ने कार्यमा थप जिम्मेवारी र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।
पहिलोपटक ‘पुलिस व्याटन’ प्राप्त गर्न सफल हुनु जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका लागि गौरवको विषय बनेको छ। यस उपलब्धिले प्रहरी कर्मचारीको मेहनत, व्यावसायिक प्रतिबद्धता र प्रभावकारी कार्यसम्पादनको महत्त्वलाई समेत उजागर गरेको छ।