शनिवार, कार्तिक १ गते २०८३

मझगावा सडक निर्माणको माग गर्दै गाउँपालिकामा बुझाइयो ज्ञापनपत्र

बुधवार , भाद्र २४, २०८३

लोक दृष्टि खबर।

मर्चवार। मझगावा देखि सदरमुकाम भैरहवा जोड्ने मुख्य सडकखण्डको अवस्था लामो समयदेखि जर्जर बनेको भन्दै तत्काल सडक निर्माण गर्न माग गरिएको छ। सडकको दुरवस्थाका कारण दैनिक हजारौँ सर्वसाधारण धुलो, हिलो तथा जोखिमपूर्ण यात्राको सामना गर्न बाध्य भएको भन्दै कोटाहीमाई गाउँपालिका–५ का समाजसेवी मुकेश कुमार चौधरीले गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन्।

चौधरीले सडक निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउन माग गर्दै कोटाहीमाई गाउँपालिकाका प्रशासकीय अधिकृत सत्येन्द्र यादवलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमार्फत मझगावाको मुख्य सडकको तत्काल स्तरोन्नति तथा निर्माण कार्य सुरु गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

सडकको दयनीय अवस्थाका कारण स्थानीय बासिन्दा, विद्यार्थी, व्यवसायी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारण प्रत्यक्ष प्रभावित हुँदै आएका छन्। सामान्य वर्षामा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे हुने सडकका कारण यात्रा थप जोखिमपूर्ण बनेको चौधरीको भनाइ छ।

चौधरीले सम्बन्धित निकायलाई सडक निर्माणको विषयमा गम्भीर बन्न आग्रह गर्दै ज्ञापनपत्रलाई बेवास्ता गरिए सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। “यदि यो ज्ञापनपत्रलाई बेवास्ता गरियो र यथाशीघ्र बाटो निर्माणको काम सुरु भएन भने हामी सम्पूर्ण स्थानीय बासिन्दा सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ। जनताको अधिकार र विकासका लागि हाम्रो लडाइँ जारी रहनेछ,” चौधरीले भने।

स्थानीय बासिन्दाले समेत सडक निर्माणमा ढिलाइ नगरी सम्बन्धित निकायले तत्काल आवश्यक प्रक्रिया अघि बढाउन माग गरेका छन्।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार