लोक दृष्टि खबर।
रुपन्देही । ओमसतिया गाउँपालिका–३ करुवानीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ओमसतियाको सक्रियतामा शोकसभा सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात् गर्दै आयोजित शोकसभामा स्थानीय बासिन्दा, समाजसेवी, रास्वपाका नेता–कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको पहल, नेतृत्व तथा समन्वयमा ओमसतिया गाउँपालिका रास्वपाका उपसभापति पंकज दुबेको प्रमुख भूमिका रहेको थियो। कार्यक्रममा गाउँपालिका रास्वपाका सभापति सन्दीप यादव, पालिका सचिव सुरेश मिश्र, विभिन्न वडाका सभापति तथा सदस्यलगायतको सहभागिता थियो।
शोकसभामा उपसभापति दुबेले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा पीडित परिवार तथा समुदायसँग एकजुट भएर उभिनु सबैको सामाजिक तथा मानवीय दायित्व भएको बताउनुभयो। उहाँले समाजमा आइपर्ने सुख–दुःखका हरेक परिस्थितिमा जनतासँग प्रत्यक्ष जोडिँदै सहयोग, सहकार्य र मानवीय संवेदनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ओमसतिया गाउँपालिका–३ का सभापति त्रियुगी चौधरी र पालिका सचिव सुरेश मिश्रप्रति विशेष धन्यवाद तथा आभार व्यक्त गरिएको थियो। साथै, कार्यक्रममा उपस्थित स्थानीय बासिन्दा, समाजसेवी तथा रास्वपाका सम्पूर्ण नेता–कार्यकर्ताप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।