लोकदृष्टि खबर
भैरहवा, २४ साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्दा भन्सार छली गरी अवैध रूपमा पैठारी गरिएका करिब २९ लाख २२ हजार १ सय ८९ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बरामद सामानहरू आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बरामद सामानहरू यसप्रकार छन् ।
मायादेवी गाउँपालिका–६ सानो दुरगौलियाबाट १५ लाख ५० हजार २ सय २० रुपैयाँ बराबरको सामानसहित यूपी ५६ एएफ ८४०१ नम्बरको मोटरसाइकल, ९८४ पिस रोलगलका तिल्लरी, ४० प्याकेट मंगलसूत्र र अन्य रोलगलका गहनाहरू बरामद भएका छन्।
बुटवल उपमहानगरपालिका–४ जेसिस चोकबाट ९ लाख ८८ हजार ६० रुपैयाँ बराबरका किराना तथा मिठाईका सामान, सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट २ लाख २९ हजार ७ सय २५ रुपैयाँ बराबरका विभिन्न किराना सामान र मायादेवी गाउँपालिका–७ बैरहवाबाट २६ हजार ३ सय ४ रुपैयाँ बराबरका बेबी पाउडर, सेन्ट, मसाज तेल र फेसवास बरामद भएका छन्।
त्यस्तै सियारी गाउँपालिका–१ मधुवनबाट १२ हजार रुपैयाँ बराबरका ३० पिस लेडिज कुर्ती, रोहिणी गाउँपालिका–६ ललितपुरबाट ८५ हजार रुपैयाँ बराबरको मोटरसाइकलसहित बोइलर कुखुरा, रोहिणी गाउँपालिका–३ धकधई चोकबाट १६ हजार ४ सय ८० रुपैयाँ बराबरका किराना सामान र लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लोखडियाबाट १४ हजार ४ सय रुपैयाँ बराबरका १२ वटा बोइलर कुखुरा नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले यी सामानहरू अवैध रूपमा भन्सार छली गरी पैठारी गरिएको जानकारी दिएका छन्।